२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

रानाथारू समुदायमा होलीको उल्लास

- रासस बुधबार १४, चैत २०८० १२:२९

रानाथारू समुदायमा होलीको उल्लास

बेदकोट (कञ्चनपुर) । परम्परागत थारु पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् ।

दुई समूहमा रहेका उहाँहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारु समुदायको होलीको दृश्य हो ।

अन्य समुदायभन्दा यो समुदायले होली भिन्न तरिकाले मनाउँछन् । थारुबस्तीमा होलीको उल्लास छ । नयाँ कटानका स्थानीय बासिन्दा चेतराम रानाका अनुसार यस समुदायमा एक महिना लामो अवधिसम्म होली मनाउने प्रचलन रहेको छ ।

'पुर्खौंदेखि चलिआएको चलनअनुसार परम्परागत तरिकाले होली मनाउँछौँ । माघ पूर्णिमादेखि होली सुरु हुन्छ,' उनले भने, 'गुइँठा राखेर होलीको सुरुआत गरिन्छ ।'

गाईवस्तुको गोबरबाट बनाइने गुइँठाको जोहो होलीअघिदेखि नै गर्ने गरिन्छ । रानाथारु समुदायको प्रत्येक घरमा गोबर सुकाएर गुइँठा बनाइन्छ । गुइँठा नबनाएकाहरुले अरूको घरबाट ल्याएर भए पनि माघ पूर्णिमामा होलीमा राख्ने प्रचलन रहेको रानाले बताए ।  

'एक महिनाभर राति मात्रै होली खेलिन्छ । जसको घरमा खेलिन्छ उसैको घरमा मिठाई खाइन्छ,' उनले भने, 'फागुन पूर्णिमामा होली जलाइन्छ ।' 

रानाका अनुसार माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म मनाइने होलीलाई ‘जिन्दा होली’ भनिन्छ । होली जलाएपछि अर्को दिन बेलुका गुइँठाको खरानीको टीका लगाइन्छ । 

'होली हाल्दा र जलाउँदा त्यहाँ नाचगान गर्ने गरिन्छ,' स्थानीय प्रिया रानाले भनिन्, 'त्यहाँबाट गीत गाउँदै गाउँको मूलीको घरमा आएर होली खेल्ने प्रचलन छ ।' त्यसपछि अर्कोे दिनदेखि घरघरमा गएर होली खेल्ने गरिन्छ । चेलीबेटीले सुरुमै घरमा गएर होली खेल्नका लागि प्रस्ताव राख्छन् । घरमूलीले स्वीकृत गरेपछि मात्रै त्यो घरमा होली खेल्ने चलन रहेको उनले जानकारी दिइन्।

 प्रियाका अनुसार घरघरमा गएर एक सातासम्म खेल्ने होलीलाई ‘मरी होली’ भनिन्छ । गत सोमबारदेखि सुरु भएको रानाथारु समुदायको यो होली आगामी सोमबारसम्म चल्ने उहाँले जानकारी दिए ।

महिला थारु परम्परागत पहिरन घघरिया, अगिया, उडनिया तथा पैडामा सजिएर होली गीत गाउँदै झुम्मिछन् । पुरुषले स्थानीय भाषामा झगिया लगाए होली खेल्छन् । होलीमा बाजे, छोरा र नातिनातिना तीनै पुस्ताको सहभागीताले संस्कृति पुस्तान्तरणमा सहज भएको बसन्ती रानाले बताइन् । 'बुढापाकासँगै बालबालिका पनि होलीमा सहभागी भएका छन् । यसले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे ज्ञान हुन्छ,' उनले भनिन्, 'यसले रमाइलोसँगै संस्कृति संरक्षणमा टेवा पु¥याएको छ ।'


प्रतिकृया दिनुहोस