२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु

- विशेष खबर शनिबार ०७, पुष २०८० ११:४५

छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । आज छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको बा१०च ८२८३ नम्बरको निजी गाडीले सोही दिशाबाट आउँदै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा रोल्पा करेती गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका घर्तीमगरको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेज भक्तपुरमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । 

त्यसैगरी काठमाडौंको गोकर्णेश्र नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्क नजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरी परिसर काठमाडौंका अनुसार बा२ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौं सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा आज मृत्यु भएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए। 

त्यस्तै कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु भएको छ । आज साँझ बेदकोट नगरपालिका–६ सिसैयामा ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सिसैया चोकबाट करिब एक सय ५० मिटर उत्तरतर्फ से१त ८९३० नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सिसैयाका अशोक चन्दका छोरा लभ चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए । 

बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहताखत्री र वडा नं १२ शीतलपुर बस्ने  २२ वर्षीय अभिमनु कुशवाहा रहेको जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

आज प्रसौनी गाउँपालिका–२ दुधौरा खोलापुलस्थितमा कलैयाबाट  वीरगञ्जतर्फ जाँदै गरेको मप्र०३–०३०–प ४३९८ नम्बरको  मोटरसाइकल अनियन्त्रित दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताए।


प्रतिकृया दिनुहोस