२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

- रासस बुधबार २७, मङि्सर २०८० ०८:३३

दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए

बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् ।

विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो ।

त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको  पाइएपछि पुलको डिजाइन नै फेरिएको छ ।

'पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ,' सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने ।

विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर  निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रूपैयाँ रहेको छ । 'हालसम्म १२ करोड भुक्तानी भइसकेको छ,' उनले भने ।

पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् । 'लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ,' लालझाडी–४ का कृष्ण राना भन्छन्। 
 
वर्षौंदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन् । 'नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ,' लालझाडी–५ का धोके रानाले भने, 'बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।'

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रूपैयाँ शुल्क तिर्ने गरेका छन् ।

बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए । 'वर्षातमा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौं,' उनले भने, 'त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।'


प्रतिकृया दिनुहोस