२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

आन्तरिक र बाह्य उडानमा असार २१ सम्म रोक लगाउने सरकारकाे निर्णय

- विशेष खबर आइतबार ३२, जेठ २०७७ ०८:१८

आन्तरिक र बाह्य  उडानमा असार २१ सम्म रोक  लगाउने सरकारकाे निर्णय
फाइल तस्बीर ।

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई असार २१ गते राति ११:५९ सम्मलाई रोक लगाएको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो सातौं निर्णय हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार, जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । 

नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले आइतबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि जरुरी सूचना जारी गर्दै ‘सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई मात्र असार २१ गते राति ११:५९ बजेसम्मका लागि रोक लगाइएको’ जनाएका छन् ।

यसअघि पहिलोपटक ०७६ चैत ९ गतेदेखि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानलाई र आन्तरिक वायुसेवालाई चैत ११ देखि १८ गतेसम्म व्यावसायिक यात्रु उडानमा रोक लगाइएको थियो । चैत १९ देखि वैशाख ३ सम्म, वैशाख ४ देखि १८ सम्म, वैशाख १९ देखि जेठ २ सम्म, जेठ ३ देखि जेठ १८ र जेठ १९ देखि वैशाख ३२ सम्म व्यावसायिक उडानमा रोक लगाइएको थियो । यी निर्णय मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको हो ।

व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न/गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ । हालसम्म काठमाडौंबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी कम्तीमा डेढ सय उडान भइसकेका छन् ।

 


#मन्त्रीपरिषद

प्रतिकृया दिनुहोस