२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

भूकम्प अपडेट : उद्धार जारी, चिकित्सकसहितको टाेली प्रभावित क्षेत्रतर्फ

- विशेष खबर शनिबार १८, कार्तिक २०८० १०:२२

भूकम्प अपडेट : उद्धार जारी, चिकित्सकसहितको टाेली प्रभावित क्षेत्रतर्फ
गए राति गएको भूकम्पमा परि घाइते जाजरकोट भेरी नगरपालिका-३ का २२ वर्षीया इसा शाहीको भेरी अस्पताल नेपालगन्जमा उपचार हुँदै । उनको टाउको र कानमा चोट लागेको छ । तस्बिर : युवराज पाण्डे/रासस

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताए।

उनका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उनले बताए।  

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।  

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताए । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुगेका छन् । उनले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गरेका छन्।

चिकित्सकसहितको प्रभावित क्षेत्रतर्फ  

सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए।

उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् । 'चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ,' उनले भने, 'हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौं ।'

गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४  म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट ठूलो मानवीय क्षति भएको जनाइएको छ । 


प्रतिकृया दिनुहोस