२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

जाजरकोट भूकम्पमा कम्तीमा ८० जनाको मृत्यु, डेढ सय घाइते

- विशेष खबर शनिबार १८, कार्तिक २०८० ०७:१६

जाजरकोट भूकम्पमा  कम्तीमा ८० जनाको मृत्यु, डेढ सय घाइते
जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भुकम्पले भेरी नगरपालिका-३ थाप्लेमा भत्किएका घरहरु । तस्बिर : हेमन्त केसी /रासस

काठमाडाैं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको छ । करिब डेढ सय जना घाइते भएका छन् । 

जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको डीएसपी रोकाले बताए । भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । रूकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।

जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको डीएसपी भट्टराईले बताए ।

रुकुम पश्चिममा भूकम्पमा झण्डै सय जना घाइते भएका छन् । गम्भीर घाइतेकाे हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । 

सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।

मध्यरातकाे घटना भएकाले उद्धारमा कठिनाइ भएकाे छ । क्षतिकाे विवरण अाउने क्रम जारी छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे । भूकम्पकाे धक्का काठमाडाैंदेखि भारतको दिल्लीसम्म महशुस गरिएकाे थियाे । 


प्रतिकृया दिनुहोस