२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

- विशेष खबर आइतबार १२, कार्तिक २०८० ०९:२१

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले  मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक  छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए  । 

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनले चारैजनाको   शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको  र आज शव परीक्षण हुने बताए। 

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ ।

छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ


प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।  यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ । 

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।


प्रतिकृया दिनुहोस