२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

फिर्केखोलाका संरचना हटाउन पाेखराकाे ३५ दिने सूचना

- विशेष खबर शनिबार ११, कार्तिक २०८० ०९:१५

फिर्केखोलाका संरचना हटाउन पाेखराकाे ३५ दिने सूचना

कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ । 

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ । 

गत साउन पहिलो साता महानगरले फिर्केखोलाको प्राकृतिक बहाव पत्ता लगाउने प्रयोजनका लागि एक प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ । 

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले  सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ । 

साविक ग्यारजाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ आठ किलोमिटर छ ।
 
यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको हो ।
 
फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् ।

महानगर प्रमुख धनराज आचार्यले सीमाङ्कन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न लागिएको र त्यसक्रममा संरचना हटाइने बताए ।

प्रमुख आचार्यले भने, 'सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचना हटाइनेछ ।'

दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले बताए। 


प्रतिकृया दिनुहोस