२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

आमासहित तीन छोराछोरी घरभित्रै मृत फेला, अनुसन्धानका लागि खटियाे प्रहरीको विशेष टोली

- विशेष खबर शुक्रबार १०, कार्तिक २०८० ०९:१९

आमासहित तीन छोराछोरी घरभित्रै मृत फेला,  अनुसन्धानका लागि खटियाे प्रहरीको विशेष टोली

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित  मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी मृतावस्थामा फेला परेका छन् । 

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे  घटनास्थलमा प्रहरी पुगेको बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका  गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । 

श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या ग¥यो  खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ  थापाले बताए।

प्रारम्भिक अनुसन्धानअनुसार  श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।  कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ । 

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ  ।

अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन
सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका  लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको छ ।

प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार सुर्खेतबाट विशेष अनुसन्धान गर्ने वरिष्ठ प्रहरी नायव उपरीक्षक नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली र अर्को एक टोली अनुसन्धान गर्न मुगु गएको छ । टोली आज राति  कालिकोट बसेर शनिबार बिहानै मुगु पुग्ने उनले जानकारी दिए।

 


प्रतिकृया दिनुहोस