२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

यसरी मनाए कलाकारले दसैँ

- रासस बुधबार ०८, कार्तिक २०८० ११:४२

यसरी मनाए कलाकारले दसैँ

काठमाडौं । विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । 
    
हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिए। उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताए ।

दसैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उनले जानकारी दिए ।
    
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाए ।

सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उहाँले दसैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए। 
    
यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताए । 
    
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरे। अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गरेका छन् । 
    
यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेका हास्य कलाकार शिवशङ्कर रिजालले भने, 'तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।'

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले  पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन् ।

अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२ : 'भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौं उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए । 'यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि  दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाईरहेको छु,' उनले भने । 

दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए ।


प्रतिकृया दिनुहोस