२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दंग

- रासस मङ्गलबार ०७, कार्तिक २०८० ०८:०८

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दंग

मुग्लिन । चितवनको  पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् ।

हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै  विदेशी पर्यटकले सौराहाको  होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन् ।

सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी (गिरी)ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए। उनीहरूसँगै क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।
     
नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दसैँ मनाउन पाउँदा निकै खुसी देखिन्थे । 'मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दसैँ मनाएको छु, धन्यवाद नेपाली,' उनले भने ।

अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थे। उनले आगामी वर्ष पनि  नेपालमा आएर दसैँ मनाउने बताए । 'विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,' विदेशी पर्यटक माइकाले भने । 
     
चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दसैँ मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्यलसमेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए ।  'हामीले विगतमा पनि यसरी पर्यटकलाई दसैँमा सँगै राखेर मनाएका थियौँ,' उनले भने, 'हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।'

नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ ।

दसैँसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए ।

पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दसैँ, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् ।

विदेशीलाई दसैँको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् । 


प्रतिकृया दिनुहोस