२०८१ असार ०७ गते बिहिबार | 20 June, 2024

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

- रासस सोमबार ०६, कार्तिक २०८० १२:१०

दसैँ, सडक सुरक्षा र चालकको दायित्व
  • भीमज्वाला राई

काठमाडौं । आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् ।

दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएकोछ । 

सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो । अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन । दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा । तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ । 

आफू सुरक्षित हुनुस् ः शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पु¥याउन सक्छु भन्ने महसुस गर्नुस् ।  

तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस् ः तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस् ।

सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस् : पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं । महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं । 
क्षमता भन्दा बढी यात्रु नचढाउनुस् ः सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् ।

दवाब र तनाबमा काम नगर्नुस् : काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस् । दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ ।

बढी भाडा नलिनुस् ः यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ । त्यस्तो अपराध नगर्नुस् ।
समयलाई महत्व दिनुस् ः सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस् ।  

ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् ः हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ । अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस् । ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस् ।

खानपानलाई व्यवस्थित गर्नुस् : मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसको खासकारण सडक दुर्घटना नै हो । तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् । 

काम र जीवनलाई सन्तुलित गर्नुस् : आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । यसका कारण दुर्घटना निम्तिन्छ । तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस् । 

महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् ःतपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन् । उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् ।

गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस् ः यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस् ।

यात्रुमैत्री हुनुस् : सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन् । उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस् ।  

लाइसेन्स र कागजपत्र साथमा राख्नुस् ः तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागजलगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस् । 

सवारीसाधनको अवस्था चेक गर्नुस् : सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस् ।

नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप : 
सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ । सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन् । 

भौतिक कारण: पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । 

मानवीय कारण: मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ । 

यान्त्रिक कारण: सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ । अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । 

पर्यावरणीय कारण : कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ । 

अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुईमत छैन ।

(लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)


प्रतिकृया दिनुहोस