२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

हेर्नुहाेस् फूलपाती भित्र्याउँदाका तस्बिरहरू

- रासस शनिबार ०४, कार्तिक २०८० ०८:११

हेर्नुहाेस् फूलपाती भित्र्याउँदाका तस्बिरहरू
गोरखा दरबारको दसैँ घरमा फूलपाती भित्र्याइँदै । तस्बिर ः दीपक श्रेष्ठ/रासस

काठमाडाैं । वडादसैंकाे साताैं दिन शनिबार फूलपाती भित्र्याइएकाे छ । 

 

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राजधानीकाे सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ ।

 

बडादसैँको साताैं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

 

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो ।

 

नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । 

 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायतकाे सहभागिता थियो । 

 

बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो ।

 

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । 

 

मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुखमुनि गएर हिन्दू परम्पराअनुसार पूजा पाठ गरेका थिए ।
 

धनुषा जनकपुरधाममा रहेको राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरमा शनिबार फूलपाती भित्र्याइँदै। तस्बिरः निरञ्जनकुमार साह / रासस

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ४ स्थित पुरानो गुहेश्वरी मन्दिरबाट फूलपातीको डोलीसहित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नागार्जुन दरबारतर्फ प्रस्थान गर्दै नेपाली सेना कालीध्वज गणको टोली । तस्बिर: हरिराम भेटुवाल/रासस

शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा मार्चपास गर्दै नेपाली सेनाका टोली । तस्बिरः प्रदीपराज वन्त / रासस

बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा शनिबार तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित खड्गदेवी मन्दिरमा खड्गजात्रा मनाउन उपस्थित सर्वसाधारणको भीड । तस्बिर : कृष्ण न्यौपाने/रासस

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित वागेश्वरी मन्दिरमा फूलपाती भित्र्याउन डोली लिएर जाँदै श्री बज्र दल गणका नेपाली सेनाको टोली । तस्बिर: रुपनी जिएम/रासस

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित फूलपातीको बढाइँ कार्यक्रमका अवसरमा नेपाली सेनाको एक टुकडीले दिएको सलामी ग्रहण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

 

 

 


प्रतिकृया दिनुहोस