२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

झुलाघाट पुल मर्मत सकियाे, नाका पूर्णरूपमा सञ्चालन

- रासस बुधबार ०१, कार्तिक २०८० ११:२५

झुलाघाट पुल मर्मत सकियाे, नाका पूर्णरूपमा सञ्चालन

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ ।

झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो । 

पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि दिउँसो ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द गरिएको थियोे । पूर्णरूपमा नाका सञ्चालन भएसँगै अब बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म आवागमन हुनेछ । 

झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै दसैँका लागि घर फर्कने नागरिकलाई सहज भएको छ । नाकामा आंशिकरूपमा मात्रै आवतजावत भइरहेका बेला घर फर्कने नागरिकलाई समस्या भएकामा अब झन्झट नहुने सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । 

नाका पूर्णरूपमा सञ्चालन भएसँगै दसैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ ।

बैतडीका निङगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, उदयदेवलगायतका मन्दिरमा दर्शनका लागि दसैँको समयमा भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

झोलुङ्गे पुल जीर्ण भएपछि सीमा समन्वय बैठकमा नेपाल र भारतीय पक्षबीच पुल मर्मतसम्भार गर्ने सहमति भएको थियो ।

झुलाघाटमा पक्की पुल नहुँदा जीर्ण पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । यहाँ लामो समयदेखि पक्की पुलको माग गरिँदै आएको छ । 


प्रतिकृया दिनुहोस