२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल ल्याइने, ५ शवकाे अझै पहिचान खुलेन

- विशेष खबर बुधबार ०१, कार्तिक २०८० ०८:३५

इजरायलबाट ५ नेपालीको शव तीन दिनभित्र नेपाल ल्याइने, ५ शवकाे अझै पहिचान खुलेन
File photo

काठमाडाैं । इजरायलको किबुज अलुमिममा असोज २० मा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान हुन बाँकी छ ।

गत आइतबार पहिचान खुलेका पाँच शवको तीन दिनिभित्र नेपाल ल्याइने भएकाे छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार मृतक घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको हो ।

हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी रहेको नेपाली दूतावासले जनाएको छ ।

हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूह हमासले आफूसँगै लगेको थियो ।

हमासले अपहरण गरी १ सय १९ जना बन्धक बनाइएको इजरायली सेनाले बताएको छ । आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् । अर्का एक घाइते उपचारपछि डिस्चार्ज भएर नेपाल फर्किसकेका छन् । अर्का एक जनाको भने नेपाली दूतावासले आफ्नै निगरानी तथा हेरचाहमा राखेको छ ।

सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो । त्यस्तै इजरायलबाट थप १८ नेपाली नागरिकको मंगलबार उद्धार गरिएको छ ।

भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाट नेपाली नागरिकको पनि उद्धार गरेकाे हो ।  

इजरायलमा ४ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । 


प्रतिकृया दिनुहोस