२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

बैंग्लाेरकाे पटका पसलमा आगलागी हुँदा १४ जनाको मृत्यु

एजेन्सी सोमबार २२, असोज २०८० १२:२६

बैंग्लाेरकाे पटका पसलमा आगलागी हुँदा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेको प्रहरीले जानकारी गराएको छ । 

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । 'प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ,' मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा भने।

उनले दुर्घटनास्थलको भ्रमणपछि सञ्चारकर्मीसँग भने, 'वास्तवमा के भएको थियो हामीलाई थाहा छैन, तथापि, हामीलाई पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ । पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ । पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन । यो पसल मालिकको पूर्ण लापरबाही हो ।'

घटनाको अनुसन्धान गर्न सीआईडीलाई आग्रह गरिएको पनि उनले जानकारी गराए । मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।  

'घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए,' मुख्यमन्त्री सिद्धारमैहाले भने । 

मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले घोषणा गरेको छ । 
 


प्रतिकृया दिनुहोस