२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

हमासको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि

- विशेष खबर सोमबार २२, असोज २०८० १२:१६

हमासको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि

काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ ।

ती विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेको थियो । इजराइलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो ।

घटनापछि एक जना बेपत्ता छन् । चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान ६ बजेदेखि ७ बजेको समयमा उनीहरु बसेको क्याम्पभित्र हमासका लडाकुहरु प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरमा अध्ययनरत ती विद्यार्थीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।  

यो विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू यो क्षेत्र द्वन्द्वग्रस्त हमास नियन्त्रित गाजा क्षेत्रबाट नजिकै पर्छ । ४९ जना विद्यार्थीहरुलाई ६ वटा समूहमा बिभाजन गरी अलग–अलग कृषि फार्ममा पठाएक थिए । ३२ जना कृषि विद्यार्थीहरु भने बिभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् ।

आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीहरुले नजिकको फार्ममा रहेका साथीहरुलाई उपचारको प्रबन्ध गर्न खबर गरेका थिए ।  

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका र मृत्यु भएकाहरूको विवरण पठाए पनि परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।


प्रतिकृया दिनुहोस