२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

इजरायलमा हमासको रकेट आक्रमणमा ९ जना नेपाली घाइते

- विशेष खबर शनिबार २०, असोज २०८० ११:०४

इजरायलमा हमासको रकेट आक्रमणमा  ९ जना नेपाली घाइते

काठमाडौ । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै 'कडा निन्दा' गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो ।

आक्रमणमा केही व्यक्ति हताहती भएको र केही घाइते भएको अवस्थामा नेपाल सरकार इजरायलको साथमा रहेको पनि वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा भनिएको छ, 'नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ ।'

परराष्ट्र मन्त्रालयले १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको बताएको छ। त्यसमध्ये ९ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । क्षतिको अरु विवरण संकलन भएसँगै जानकारी गराइने पनि मन्त्रालयले जनाएको छ ।

इजरायलमा रहेको नेपाली दूतावास आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । दूतावासले नेपाली कामदारहरूको सुरक्षा र उद्धारका लागि इजरायली निकायहरूसँग सहकार्य गरिरहेको पनि जनाएको छ ।

त्यस्तै पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले केही परेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् ।

इजरायली स्वास्थ्य मन्त्रालयले 'प्यालेस्टिनी आक्रमण' मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ । टाइम्स अफ इजरायलले रेडियो आर्मी रेडियोलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ । हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चार माध्यमले जनाएका छन् ।

हमासको रकेट आक्रमणमा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका नेपाली विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । सोही कृषि फार्मको आवासमा रहेका घाइते ७ सहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको बताइएकाे छ ।

हर्जेलियामा रहेकी इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपालीहरूको अवस्थाबारे इजरायली परराष्ट्र मन्त्रालय र उद्धार टोलीलाई खबर गरिसकेकाे र विद्यार्थीहरूलाई सतर्क रहन आग्रह गरेका बताइन् । विद्यार्थीहरूसँग नियमित सम्पर्क भइराखेको र विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको उनले बताइन् । आफूहरू पनि कर्फ्यु लागेका कारण निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले बताइन् ।

गैरआवासीय नेपाली संघ इजरायलले एक सूचना जारी गर्दै इजरायली सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ ।

हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।

इजरायली स्वास्थ्य मन्त्रालयले 'प्यालेस्टिनी आक्रमण' मा अहिलेसम्म कम्तीमा सय जना मारिएको र ९ सयभन्दा बढी घाइते भएको जनाएको छ ।

टाइम्स अफ इजरायलले रेडियो आर्मीलाई उद्धृत गर्दै ९ जना हमास विद्रोही मारिएको जनाएको छ । हमास विद्रोहीले बन्धक बनाएका केही व्यक्तिलाई प्यालेस्टाइनतर्फ लगेको पनि इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् । हमास नेता डेफलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, 'अति भनेको अति नै हुन्छ भनेर हामीले आक्रमण सुरु गरेका हौँ ।' हमासले इजरायलविरुद्ध 'अपरेसन अल-अक्सा फ्लड' सुरु भएको दाबी गरेको छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कडा प्रतिक्रिया दिएका छन् । 'इजरायली जनसमुदाय, हामी युद्धमा छौँ, अपरेसनमा होइन ।'

हमासले शनिबार बिहानदेखि नै आश्चर्यजनक रूपमा इजरायली नागरिक र इजरायल राज्यविरुद्ध आक्रमण गरेको प्रधानमन्त्री नेतान्याहुले जनाएका छन् । 'हाम्रा दुश्मनले उनीहरूले अहिलेसम्म थाहै नपाएको मूल्य चुकाउन पर्नेछ । म इजरायली सेना र होम कमान्डको निर्देशनलाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिन्छु । हामी युद्धमा छौँ र हामीले नै जित्नेछौँ ।'

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले आफ्ना नागरिकलाई प्रतिरक्षाको अधिकार भएको बताएका छन् । राष्ट्रपति अब्बासले 'अतिक्रमणकारी सेना'बाट आफूलाई रक्षा गर्ने अधिकार प्यालेस्टिनी नागरिकलाई भएको प्रतिक्रिया दिएकाे अन्तरराष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो पटक २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस