२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

पर्यटकले भरिएको बस पुलबाट खस्दा दुई बालबालिकासहित २१ जनाको मृत्यु

एजेन्सी बुधबार १७, असोज २०८० ०९:२७

पर्यटकले भरिएको बस पुलबाट खस्दा दुई बालबालिकासहित २१ जनाको मृत्यु

काठमाडौं । इटालीको भेनिस सहर नजिकैको पुलबाट मंगलबार एउटा बस खसेर आगलागी भएको छ । दुर्घटनामा दुई बालबालिकासहित २१ विदेशी पर्यटकको ज्यान गएको छ ।

करिब १८ जना गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । पर्यटकलाई क्याम्पिङ ग्राउन्डमा लैजाँदै गरेको बस पुल पार गर्ने क्रममा नियन्त्रण गुमाएर तल खसेको थियो ।

बसमा सवार यात्रुले केही बुझ्नुअघि नै बसमा आगलागी भएको थियो, जसका कारण कम्तीमा २१ जनाको जलेर मृत्यु भएको थियो । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।

बसमा लागेको आगो निभाएर शव निकालिएकाे थियाे । शवहरु नराम्ररी जलेका छन् । भेनिसका मेयर लुइगी ब्रुगनारोले स्थानीय संचारमाध्यमलाई भनेअनुसार बस भेनिसबाट नजिकैको मार्गेरा जाँदै थियो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार ४० वर्षीय बस चालक अल्बर्टो रिजोटोको रूपमा पहिचान भएका छन्। ट्राफिक सल्लाहकार रेनाटो बोरासोले रिजोटो ड्राइभिङमा विज्ञ र बस चालकको रूपमा ७ वर्षको अनुभव रहेको बताए ।

रिपोर्टका अनुसार एक अधिकारीले मृतकमा युक्रेनी पर्यटक पनि रहेको बताएका छन् । सहरका एक अधिकारीले भनेअनुसार घाइते हुनेमा तीन युक्रेनी, एक क्रोएसियाली, एक जर्मन र एक फ्रान्सेली नागरिक छन्।

दुर्घटनापछि देशकी प्रधानमन्त्रीले पनि शोक व्यक्त गरेकी छन् । प्रधानमन्त्री जर्जिया मेलोनीले ट्वीटरमा लेखेकी छन्, ‘मेस्त्रीमा भएको गम्भीर घटनाप्रति म व्यक्तिगत र सरकारको गहिरो समवेदना व्यक्त गर्दछु। हाम्रो समवेदना पीडित र तिनीहरूका परिवार र साथीहरूसँग छन्।’

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा लेखेका छन्, 'आज साँझ भेनिसमा भएको भयानक त्रासदीमा मारिएका इटालियन जनता, परिवार र प्रियजनहरूप्रति मेरो समवेदना छ।'


प्रतिकृया दिनुहोस