२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

कर्फ्यूका कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

- रासस बुधबार १७, असोज २०८० ०१:५१

कर्फ्यूका कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै
नेपालगञ्जमा हिजो मङ्गलबारदेखि लगाइएको कर्फ्यूका कारण भारतबाट नेपाल आउँदै गरेका जमुनाह नाकामा अलपत्र परेका यात्रु । तस्बिरः रुपनी जि एम/रासस

खजुरा (बाँके) । नेपालगञ्जमा लागेको कर्फ्यूका कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।

कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।

उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो ।

जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन् ।

दसैँ नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । कर्फ्यूपछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यू जारी गरेको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आज बिहानसम्म कर्फ्यू  उल्लङ्घनका घटना भएका छैनन् । यद्यपि केही व्यक्ति बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो ।

प्रहरीका अनुसार त्यस्ता व्यक्तिलाई सम्झाइबुझाइ घर पठाइएको छ । कर्फ्यू उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।


प्रतिकृया दिनुहोस