२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

बझाङमा भूकम्प जाने क्रम जारी, ४ रेक्टरस्केलमाथिका ११ धक्का

- विशेष खबर बुधबार १७, असोज २०८० १२:३५

बझाङमा भूकम्प जाने क्रम जारी, ४ रेक्टरस्केलमाथिका ११ धक्का
मंगलबारकाे भूकम्पका कारण बाजुरामा क्षति भएकाे घर ।

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।

 राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म ४ रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६ दशमलव ३ रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केल, ३ः४५ बजे सुर्मा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४ दशमलव ३ रेक्टरस्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टरस्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसैगरी गएराति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर ४ दशमलव १, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर ४ दशमलव ३ र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

 केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । 'विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,' उनले भने ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर ५ दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए। 


प्रतिकृया दिनुहोस