२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

एजेन्सी मङ्गलबार १६, असोज २०८० ११:४३

नाइजेरियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ४० जना बेपत्ता

 अबुजा । नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् । 

स्थानीय अधिकारीका अनुसार केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको हाे ।

जिल्लाका प्रशासक बाला मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे बर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपतकालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताए ।

स्थानीय गोताखोरलाई डुङ्गामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुङ्गामा रहने अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटना हुने गरेको छ ।

गत महिना पनि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले मुलुकमा पटक पटक हुने डुङ्गा दुर्घटनाको बृहत् अनुसन्धान गर्न आदेश दिएका थिए। 

तिनुबुले कानून प्रवर्तन, समुद्री सुरक्षा, र यातायात सुरक्षा अधिकारीहरूसहित विभिन्न सरकारी एजेन्सीहरूलाई दुर्भाग्यपूर्ण र रोकथाम योग्य विपत्तिहरूको मूल कारणहरू पहिचान गर्न निर्देशन दिएका थिए । 


प्रतिकृया दिनुहोस