२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सयको मृत्यु

एजेन्सी बुधबार १०, असोज २०८० १०:०४

इराकको विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सयको मृत्यु

निनेभ । उत्तरी इराकको एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ भने १५० जनाभन्दा घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।

निनेभ प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार राति यो घटना भएको बताइएको छ । के कारणले आगलागी भएको भन्ने यकिन नभए पनि प्रारम्भिक रिपोर्टमा आतिशबाजी पछि आगलागी सुरु भएको उल्लेख छ ।

इराकी समाचार एजेन्सी निनाले दर्जनौँ अग्नि नियन्त्रकहरू आगलागी नियन्त्रणमा खटिएको तस्बिर सार्वजनिक गरेको छ । भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ । 

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो । इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

 


प्रतिकृया दिनुहोस