२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?

- विशेष खबर सोमबार ०८, असोज २०८० ०७:१४

नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?

काठमाडौं । नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन अब एक हप्ता बाँकी छ । कहिलेकाहिँ सरदर मितिभन्दा दुई-चार दिन ढिलो-चाँडो पनि मनसुन बाहिरिने गर्दछ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन पश्चिम नेपालबाट बाहिरिन सुरु गर्छ । भारतको राजस्थानबाट भने मनसुनी वायु बाहिरिन सुरु गरिसकेको छ । भारतको मौसम विज्ञान विभागले भोलि सोमबारदेखि मनसुन बाहिरिन सुरु गर्ने जनाएको छ ।

मौसमविदहरुका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ अर्थात् पूर्वी वायु (मनसुनी वायु) लाई पश्चिमी वायुले विस्थापित गर्नुपर्छ । र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउनेक्रम रोकिनुपर्छ ।

सामान्य हिसाबमा मनसुन बाहिरिन जाडो सुरु हुनुपर्छ । जाडोको वायु पश्चिमबाट चल्छ । काठमाडौं उपत्यकामा बिहानपख जाडो महसुस हुँदै गएको छ । यद्यपि जाडोको वायुका साथै मनसुनका अरु धेरै प्रणालीहरु छन्, ती सबै बाहिरिँदै जानुपर्छ ।

स्थानीय वायुको प्रभाव, पश्चिमी वायुको प्रभाव, वायुमण्डलको अवस्था सबै हेरेर मनसुन बहिर्गमनको घोषणा गरिन्छ । तर अहिले मनसुन कमजोर भए पनि बाहिरिने अन्य पूर्वसंकेतहरु देखिएका छैनन् । त्यसैले मौसमविदले मनसुन बहिर्गमनको मितिबारे ठोकुवाका साथ भन्न नसकेका हुन् ।


#माैसम

प्रतिकृया दिनुहोस