२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

देहरादूनमा नेपाली युवतीको हत्या आरोपमा भारतीय सेनाका कर्नेल पक्राउ

- विशेष खबर शुक्रबार २९, भदौ २०८० ०९:०६

देहरादूनमा नेपाली युवतीको हत्या आरोपमा भारतीय सेनाका कर्नेल पक्राउ

काठमाडाैं । भारत उत्तराखण्डकाे देहरादूनमा नेपाली युवतीेकाे हत्या अभियाेगमा भारतीय सेनाका कर्णेल पक्राउ परेका छन् । 

शनिबार राति भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल ४२ वर्षीय रामेन्दु उपाध्यायले २६ वर्षीय नेपाली युवती श्रेया शर्माकाे हत्या गरेकाे भारतीय प्रहरीले जनाएकाे छ । प्रहरीले हत्या आरोपी उपाध्यायलाई नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरेको छ । हत्यामा प्रयोग भएका हथौडा, गाडी र कपडालगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

तनहुँ घरभएकी श्रेया पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्दा सन् २०२० को सुरुवाततिर उनको भेट उपाध्यायसँग भयो । दुवै एकअर्काप्रति आकर्षित हुँदै गएपछि निरन्तर भेटघाट हुन थाल्याे । उपाध्यायले सिलिगुडीमा फ्ल्याट लिएर दुवै सँगै बस्न थाले । 

उपाध्यायकाे बयानअनुसार गत जनवरीमा देहरादून सरूवा भएपछि सिलिगुडीबाट रमाना हुँदा श्रेयालाई पनि सँगै ल्याए । देहरादूनमै फ्ल्याट भाडामा लिएर सँगै बस्न थाले पछिकाे कुरा उपाध्यायकी श्रीमतीले थाहा पाइन् । घरमा पनि यसै विषयमा झगडा हुन थाल्यो । श्रीमतीले श्रेयाको कोठामै गएर झगडा गर्न थालेपछि उपाध्यायले श्रेयालाई पन्छाउने योजना बनाए ।

शनिबार उपाध्यायले श्रेयालाई देहरादूनको राजपुर रोडको एउटा क्लबमा लगे । त्यसअघि नै उनले हत्याको योजनासहित हतौडा र शौचालय सफा गर्ने एसिड गाडीमा राखेका थिए । क्लबमा राति अबेरसम्म दुवैले मदिरा सेवन गरे । केही बियरका बोतल गाडीमा पनि राखे । देहरादूनका विभिन्न ठाउँमा यात्राकै क्रममा दुवै जनाबीच विवाद पनि भयो । विवादबीच उपाध्यायले श्रेयाको टाउकोमा हतौडाले हाने । लगातारको प्रहारबाट श्रेयाको मृत्यु भयो । शौचालय सफा गर्ने एसिड उनको मुखमा फाले । त्यसपछि उनले गाडी जंगल किनारमा लगेर शव त्यही छाडे । उपाध्यायले हत्यामा प्रयोग भएका सामग्री र श्रेयाका कपडा गाडीमै हालेर शोरुमभित्र राखे ।

घटनाको भोलिपल्ट स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्नेबित्तिकै अनुसन्धान सुरु भयो । देहरादून प्रहरीले घटनाको अनुसन्धानका लागि विभिन्न टोली गठन गर्‍यो । ‘यो योजनाबद्ध हत्या हो, हामीले घटनालगत्तै अनुसन्धान सुरु गरेर आरोपी नियन्त्रणमा लिइसकेका छौं,’ मंगलबार आरोपीलाई सार्वजनिक गर्दै देहरादूनका वरिष्ठ प्रहरी अधिक्षक (एसएसपी) दिलीपसिंह कुँवरले पत्रकार सम्मेलनमा भने, ‘दुवै जनाको लामो समयदेखि सम्बन्ध रहेछ, महिलाले विवाहका लागि दबाब दिइरहेकी थिइन्, बदनाम गर्ने पनि धम्की दिइरहेकी थिइन्, त्यसपछि हत्याको योजना बनेको देखिन्छ ।’ एसएसपी कुँवरले शंकास्पदलाई निगरानीमा राखेर अनुसन्धान गर्दै जाँदा उपाध्यायसम्म पुग्न सफल भएको बताए ।

एसएसपी कुँवरले हत्या घटनाका विषयमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए । अहिले श्रेयाको शव अस्पतालमै राखिएको छ । नेपालमा उनका परिवारसँग सम्पर्कका लागि चम्पावत प्रहरीलाई समेत आग्रह गरिएको उनले पत्रकार सम्मेलनमा भने ।

देहरादूनका अधिकारकर्मी विशाल थापाले शुक्रबार साँझसम्म मृतकका आमा र बहिनी देहरादून पुग्ने जानकारी पाएको बताए ।


प्रतिकृया दिनुहोस