२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

- रासस बिहिबार २८, भदौ २०८० ०१:५८

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी । अज्ञात समूहद्वारा यहाँको एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो । 

 कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । 

 'बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए,' उनले भने, 'आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।'

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ ।

यस्तै विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट नौ हजार तीन सय ?रूपैयाँ बराबरको सामानको चोरी भएको छ ।

 विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  


प्रतिकृया दिनुहोस