२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

लिबिया बाढीः २३३० जनाको मृत्यु, दश हजार बेपत्ता

एजेन्सी बुधबार २७, भदौ २०८० ०३:५४

लिबिया बाढीः  २३३० जनाको मृत्यु, दश हजार बेपत्ता

जेनेभा । पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका छन् । 

रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् । 

लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् । उनीहरुले दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् । 

एकै शहरका तीसहजार बढी विस्थापित
लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ ।

'पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण  विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,' आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ । 

गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका  दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।  

यसैबीच, लिबियाका अधिकारीहरूले डेर्नामा ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन् । 

 


प्रतिकृया दिनुहोस