२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

एजेन्सी सोमबार २५, भदौ २०८० ११:२०

मोरक्को भूकम्पः दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

माेरक्काे । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै मानवीय क्षति मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ । 

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार चार सय ९७ जनाको मृत्यु भएको तथा दुई हजार चार सय ७६ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ ।

भूइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । 

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पु¥याउन कठिन भएको छ । सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन् । यद्यपि अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन् ।

अन्तरराष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन् । खोज तथा उद्धारका काम युद्धस्तरमा  भइरहेका छन् । सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ । 

यसैबीच, मोरक्कोले फ्रान्सेली सहयोग अस्वीकार गरेको छ । मोरक्कोले कठिन समयमा पनि आफ्नो पुरानो शासकबाट सहायता अस्वीकार गर्नु कूटनीतिक रूपमा कठोर सन्देश दिएको विश्लेषकहरूले बताएका छन् । 

मोरक्कोले बेलायत, कतार, स्पेन र संयुक्त अरब इमिरेट्सबाट सहायताको अपेक्षा गरेको छ । अमेरिका पनि रबातको सहायता माग गर्ने देशको सूचीमा नहुनु आश्चर्यजनक भएको उनीहरूको टिप्पणी छ ।

फ्रान्सले परिचालन गर्न खोजेको सहायता सामग्री पेरिसमा नै थन्किएको फ्रान्सेली आपत्कालीन सहायता सङ्गठनका प्रमुख अर्नाउड फ्रेसेले बताएका छन् । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले मोरक्कोसँग सम्बन्ध सुधार गर्न चाहेको बताइएको छ । उनले तत्काल मोरक्को भ्रमण गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ तर पेरिसमा मोरक्कोका राजदूत नहुँदा विलम्ब भएको छ ।

मोरक्कोले मानवीय सहायता सामग्री अस्वीकार गरेकामा केही फ्रान्सेली संस्थाले मानवता ‘कूटनीतिक स्वार्थ’बाट प्रेरित हुन नहुने टिप्पणी गरेका छन् । 


प्रतिकृया दिनुहोस