२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

धान नाच : जहाँ केटाकेटीबीच सवाल–जवाफ हुँदै विवाहसम्म हुन्छ (भिडियाे)

- रासस शनिबार २३, भदौ २०८० १२:५४

धान नाच : जहाँ केटाकेटीबीच सवाल–जवाफ हुँदै विवाहसम्म हुन्छ (भिडियाे)

फुङ्लिङ । लिम्बू समुदायमा लोकप्रिय धान नाच संकटमा पर्दै गएपछि ताप्लेजुङमा सामुहिक धान नाच कार्यक्रम आयोजना गर्न थालेका छन्  । धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिक रुपमा नाच्ने गरिन्छ । 

लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दतासाथ नाचमा सरिक हुन्छन् ।

यो नाच साइनो सम्बन्ध भन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नु भन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ ।

तर, धान नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको लिम्बू समुदायको साझा संस्था याक्थुङचुम्लुङका ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङकाे भनाइ छ । खलामा नाचिने धान नाचमा हुने मौलिकता भिडियो र स्टेजमा देखाइने नाचमा नहुने र खलाबाट त धान नाच हराइ नै सकेकाे उनकाे धारणा छ ।

धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम् केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् ।


#संस्कृति

प्रतिकृया दिनुहोस