२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

श्रीकृष्णमन्दिरहरूमा भक्तजनको घुइँचो, पाटन कृष्ण मन्दिर पुगे राष्ट्रपति

- रासस बुधबार २०, भदौ २०८० ०५:००

श्रीकृष्णमन्दिरहरूमा भक्तजनको घुइँचो, पाटन कृष्ण मन्दिर पुगे राष्ट्रपति

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर पुगेर दर्शन एवं प्रसाद ग्रहण गरेका छन् ।

सो अवसरमा उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेलले सोही अवसरमा पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदा अभिरुचिपूर्वक अवलोकन गरे। उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ ।

राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको हाे । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौं उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिएका छन् ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका लेख्ने पनि धेरै छन् ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौंका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ ।

अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।


प्रतिकृया दिनुहोस