२०८१ मङि्सर ०६ गते बिहिबार | 21 November, 2024

गढीको कृष्ण मन्दिर जाेगाउन जुटे स्थानीय युवा, १ सय ७५ किलोको राधाकृष्णकाे मुर्ति राखिँदै (भिडियाे)

- विशेष खबर मङ्गलबार १९, भदौ २०८० ११:३३

गढीको कृष्ण मन्दिर जाेगाउन जुटे स्थानीय युवा, १ सय ७५ किलोको राधाकृष्णकाे मुर्ति राखिँदै (भिडियाे)
  • ईश्वर बोहरा

बैतडी । ऐतिहासिक महत्व बोकेको बैतडीको दशरथचन्द नगरपालिका ४ गढीमा रहेको कृष्ण मन्दिरको संरक्षणमा स्थानीय युवाहरु जुटेका छन् ।

कृष्ण जन्माष्टमीको अवसरमा उक्त मन्दिरमा राधाकृष्णको १ सय ७५ किलोको मुर्ति राख्न लागिएको कृष्ण मन्दिर जीर्णोद्वार समितिका संयोजक सञ्जीव शाहले बताए । 

दशरथचन्द नगरपालिकाको पुरानो कार्यालय रहेको मन्दिरकै जग्गामा हाल वडा नम्बर ४ को कार्यालय छ । कृष्ण जन्माष्टमीको दिन मुर्ति स्थापनाका लागि मन्दिर सरसफाइ तथा सजावटमा युवाहरु सक्रिय भएका छन् ।

सरकारी निकायको बेवास्ता र अतिक्रमणले मन्दिरको अस्तित्व नै मेटिने अवस्था आउन लागेकाले आफुहरुले संरक्षणमा जुटेको अभियानमा संलग्न स्थानीय युवा तथा निर्माण व्यवसायी भुपेश शाहले बताए । 

सहयोगीहरुबाट चन्दा स्वरुप संकलन भएको एक लाख पचास हजार रुपैयाँबाट रंगरोगन, सजावट र मुर्ति स्थापना गर्न लागेको उनले बताए। सरकारी निकायबाट भने कुनै सहयोग नपाएको उनको भनाइ छ । 

यो मन्दिरको बिशेष महत्व रहे पनि छेउमै रहेका सरकारी निकायहरुले संरक्षणमा ध्यान नदिएको स्थानीय दिपककुमार केसीको गुनासो छ । आफूहरुले सानाे उमेरमा कृष्ण मन्दिरको छेउमा महेन्द्र पुस्तकालय समेत रहेको उनी सम्झिन्छन् । यो जग्गा पनि महेन्द्र पुस्तकालय र मन्दिरकै नाममा रहेको उनले बताए । पुस्तकालय भत्काएर मन्दिरको जग्गामा तत्कालीन खलंगा गाविसको भवन बनेको र पछि दशरथचन्द नगरपालिकामा बनेपछि बनेको केसी बताउँछन् ।

उतिबेला नगरपालिकासँग जग्गा नभएर मन्दिरको जग्गामा भवन बनाए पनि अहिले नगरपालिकासँग पर्याप्त भवन हुँदा समेत मन्दिर र ऐतिहासिक पुस्तकालका नाममा रहेको जग्गा नछाड्दा दुःख लाग्ने गरेको केसीको भनाइ छ । 

मन्दिरको जग्गा फिर्ता गरिदिन वा भवनको भुइँतलाको एउटा कोठा मन्दिरका नाममा प्रयोग गर्न दिन स्थानीयले पहल गरिरहेको उनको भनाइ छ ।

मन्दिरकै जग्गामा बनाइएको भवनमा कार्यालय रहेको दशरथचन्द नगरपालिका ४ नम्बर वडा कार्यालयले समेत मन्दिर संरक्षण तथा विकासका लागि चासो दिएको छैन । धार्मिक तथा ऐतिहासिक महत्वको यो मन्दिर संरक्षणमा स्थानीय बासिन्दासँगै स्थानीय सरकार तथा अन्य निकाय जागरुक हुनु जरुरी देखिन्छ ।


प्रतिकृया दिनुहोस