२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

पत्थरीको अप्रेसन गर्दा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु

- विशेष खबर सोमबार ११, भदौ २०८० ११:५७

पत्थरीको अप्रेसन गर्दा मिर्गौला नै झिकेपछि बिरामीको मृत्यु

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनका क्रममा आइतबार राति मृत्यु भएको छ ।

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले फेरि अप्रेसन गरेर बायाँ मिर्गौला नै झिकिदिएको चौधरीका आफन्तले बताएका छन् ।

कैलालीकाे धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रबार भर्ना गरिएका चौधरीको बायाँ मिर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी छ भन्दै बायाँ मिर्गौलामा रहेका पत्थरी झिक्न अप्रेसन गरिएको थियो । बिरामीका भतिजा राजकुमार चौधरीका अनुसार दिउँसो ३ बजे अप्रेसन गरिएको थियो ।

राजकुमारका अनुसार राति ८ बजेतिर बिरामीलाई धेरै अप्ठेरो भयो । डाक्टरले त किड्नीको नसा काटियो, अत्यधिक रक्तश्राव भयो, अब बिरामीको ज्यान छान्ने कि किड्नी छान्ने पो भन्न थालेकाे उनले बताए । राति २ बजे किड्नी निकालेकाे उनले बताए । 

फेरि आइतबार बिहान अस्पताल प्रशासनका व्यक्तिहरुले बिरामीको अवस्था क्रिटिकल छ भन्न थाले पछि भेट्न जाँदा श्वास मात्रै बाँकी रहेकाे र दिउँसो २ बजे डाक्टरले अब बचाउन सकिँदैन भन्न थालेकाे चाैधरीले बताए । 

अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तश्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको बताए । जाेशीले बिरामीको मृत्यु भइसक्यो र मृतकका आफन्तलाई पनि भनिसकेकाे बताए ।  

घरको सिँढीबाट लडेर चोट लागेपछि उपचारका लागि धनगढी ल्याइएका उनलाई स्वास्थ्य परीक्षणका क्रममा मिर्गौलामा पत्थरी रहेको थाहा भएको परिवारजनकाे भनाइ छ ।  


प्रतिकृया दिनुहोस