- विशेष खबर बिहिबार ०७, भदौ २०८० ११:०८
काठमाडौं । उमा महेश्वरसहित दुवोको पूजा गरेर कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् । केही ठाउँमा भने भाद्र २१ गते मनाउने तयारी छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा मूल घर भई काठमाडौं उपत्यकालगायत देशका अन्य भागमा बस्नेले पनि आज गौरा एवं दुर्वाष्टमी पर्व मनाएका हुन् । यो पर्व अगस्त्य ऋषिको उदय भाद्र शुक्ल पक्षअघि भएमा श्रावण शुक्ल पक्षमै मनाउने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष भदौ २२ गते अगस्त्य ऋषिको उदय हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । तर सुदूरपश्चिमका ज्याेतिषहरूले सुदूरपश्चिम क्षेत्रका सन्दर्भमा अगस्त्य उदयकाे प्रभाव २३ गतेमात्रै पर्ने भएकाले २१ गते नै उपयुक्त तिथि भएकाे दाबी गरेका छन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ ।
पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा नमनाउने मान्यता छ । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
गौरालाई कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले बताए।
गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई श्रावण शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए।
देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यो पर्वका लागि यस वर्ष श्रावण शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिएको हो ।
दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलियुन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत समेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्म ग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।
यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गरेकामा विगतका वर्षमा भीड जम्मा भएर मनाउन कोरोनाका कारण सहज भएन । काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् । यस वर्ष पनि टुँडिखेलमा गौरा पर्व मनाउने कर्णाली र सुदूरपश्चिम प्रदेशवासीको चहलपहल देखिएको थियो ।
प्रतिकृया दिनुहोस