२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

सुतिरहेका आमा र दुई बच्चामाथि छुरा प्रहार गरी आक्रमणकारी फरार, तीनै जना घाइते

- विशेष खबर मङ्गलबार ०५, भदौ २०८० ११:४८

सुतिरहेका आमा र दुई बच्चामाथि छुरा प्रहार गरी आक्रमणकारी फरार, तीनै जना घाइते

बझाङ । सुतिरहेको अवस्थामा बझाङको सदरमुकाम चैनपुरमा आमा र बच्चामाथि छुरा प्रहार भएको छ । सदरमुकाम चैनपुरको प्रसाशन रोडस्थित चौगाउँटोलमा सोमबार राति भएको उक्त घटनामा तीन जना घाइते भएका हुन् ।

छुरा प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी २७ वर्षीया सुनिता विक र उनका दुई छोराहरु ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका छन् ।

राति १२ बजेतिर मास्कले अनुहार ढाकेका एक व्यक्ति कोठा भित्र प्रवेश गरेको र उनले सुरुमा बच्चालाई छुरा प्रहार गरेको घाइते सुनिताका श्रीमान् कलक विकले जानकारी दिए । ‘बच्चाहरु रोएपछि श्रीमती उठिछन् । उनलाई पनि छुरा हानेछ । उनीहरु कराउन थाले पछि मोबाइल लगेर भागेको रहेछ,’ उनले भने ।

चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ । बच्चाहरुको अनुहार, छाती, घाँटी र पिठ्यूमा अन्धाधुन्ध छुरा प्रहार हुँदा गहिरो चोट लागेको छ । तीनै जनाको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले जनाए ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको र घटनाको गम्भीर रुपले अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको चक्कु विककै भान्साको रहेको पाइएको छ ।  


##Bisheskhabar #Crime

प्रतिकृया दिनुहोस