२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

थप ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

शनिबार १०, जेठ २०७७ ०९:३२

थप ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौं ।  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, र ४२ वर्षका पुरुष तथा २७ वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ७७ पुग्यो ।

त्यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १८ वर्षदेखि ३५ वर्ष उमेरसमूहका १३ जना पुरुषमा पनि संक्रमण देखिएको छ । सर्लाहीमा शनिबार बिहानसम्म संक्रमितको संख्या ३३ पुगेको छ ।

त्यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्ष उमेर समूहका ८ जना पुरुषमा पनि शनिबार संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी बाराको करैयामाई नगरपालिकाका ३७ वर्षीय पुरुष, काठमाडौंका ३५ वर्षीय पुरुष र चितवनको भरतपुर महानगरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

अहिलेसम्म नेपालका ४० जिल्लामा संक्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ७० जना निको भएका छन् । 


#काेराेना

प्रतिकृया दिनुहोस