२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हेटौंडा-काठमाडौं जोड्ने दुई मार्ग पनि बन्द

- विशेष खबर मङ्गलबार २३, साउन २०८० ०७:२९

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हेटौंडा-काठमाडौं जोड्ने दुई मार्ग पनि बन्द
फाइल फाेटाे

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६  स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।

कान्तिलोकपथ र मदन भण्डारी मार्ग अवरुद्ध
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौंडालाई काठमाडौंसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् ।

गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाैं सडकखण्डमा पहिराेका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी  प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । 

त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बतार् ।

 


प्रतिकृया दिनुहोस