२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु

बिहिबार ०८, जेठ २०७७ १२:५३

काठमाडौं । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको छ ।

उनकाे रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे ।

प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गाैला रोगले ग्रस्त रहेका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो ।

बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताए । मदानेबासीका अनुसार लकडाउनका बेला धेरै हिँडडुल गरेका कारण उनमा कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उहाँ पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि गएका थिए । दुई दिनसम्म औषधि निकाे नभए पछि वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि गएका उनमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो ।

जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आएका उनको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको थियाे ।

उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उपचाररत संक्रमितको निधनप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री बरालले विज्ञप्ति जारी गरी अनेकौंँ प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जति अर्पण गरेका छन् । देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

नेपालमा काेराेनाबाट मृत्यु भएकाे याे तेस्राे घटना हाे । यसअघि सिन्धुपाल्चाेक बाह्रबिसेकी एक सुत्केरीकाे उपचारका लागि लैजाँदा र बाँकेका एक युवककाे क्वारेन्टाइनमै मृत्यु भएकाे थियाे । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


#काेराेना

प्रतिकृया दिनुहोस