२०८२ असार २० गते शुक्रबार | 4 July, 2025

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको शव फेला

- विशेष खबर मङ्गलबार २६, असार २०८० ०१:१८

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको शव फेला

काठमाडौं । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको  हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । 'बेनी प्रहरी चौकीले दिएको जानकारीअनुसार ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान भइसकेको छैन,' उनले भने । एक जना भने बेपत्ता रहेको उनले बताए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका २ र लिखुपिके गाउँपालिका ५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको बेनी प्रहरी चौकीले जनाएको छ ।

लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको उक्त हेलिकप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।

हेलिकप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाका एटीसी अफिसर सागर कँडेलले बताए । हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।


प्रतिकृया दिनुहोस