२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

बेपत्ता खोज्दै मोति र पिक्कु

शनिबार ०९, असार २०८० ११:२५

बेपत्ता खोज्दै मोति र पिक्कु

किमाथांका । सङ्खुवासभामा बाढीपहिराेमा परी बेपत्ता भएकाको खोजीका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक सातासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो ।

तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो । 

नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुई वटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उनले बताए । मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी गरी झण्डै एक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खोला किनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।

बाढीपहिरामा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि उनीहरुको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताए  ।

उनका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन् । बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्  ।

बाढीपहिराेका कारण जिल्लाका विभिन्न स्थानका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युत्का १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् ।

बाढीपहिराेले जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 


प्रतिकृया दिनुहोस