२०८१ मङि्सर ११ गते मङ्गलबार | 26 November, 2024

उपाध्यक्ष अवस्थीले लगाएका आरोप कपोकल्पित भएकाे मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीकाे दाबी

मङ्गलबार ०६, जेठ २०७७ ११:१९

उपाध्यक्ष अवस्थीले लगाएका आरोप कपोकल्पित भएकाे मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीकाे दाबी
मालिकार्जुन गाउपालिका अध्यक्ष नरेन्द्रसिह धामी ।

दार्चुला । मालिकार्जुन गाउपालिका अध्यक्ष नरेन्द्रसिह धामीले आफ्नो चरित्र हत्या गर्न उपाध्यक्ष पुष्पा अवस्थीले लगाएका  आरोप झुठ्ठा र कपोकल्पित भएको दाबी गरेका छन् । 

उपाध्यक्ष अवस्थीले गाउपालिकालाई एकपक्षीय ढंगबाट चलाउन खोजेको भन्दै अध्यक्ष धामीलाई विभिन्न आरोप लगाएर सोमबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् । 

मंगलबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी अध्यक्ष धामीले उजुरीमार्फत आफूप्रति लगाएका आरोपको खण्डन गरेका छन् । उपाध्यक्ष अवस्थीले आफ्नो राजनीतिक तथा व्यक्तिगत चरित्र हत्या गर्न झुटो उजुरी दिएको अध्यक्ष धामीले बताए ।  उपाध्यक्षले दिएको उजुरीबारे विभिन्न संचारमाध्यम र सामाजिक संजालबाट थाहा पाउदा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उनले बताए । 

‘समग्र गाउपालिकाको नीति निर्माण तथा निर्णय प्रक्रियामा बरावर सहभागी व्यक्तिबाट नै उनै निर्णय तथा कार्यक्रमहरुको कार्यान्वयन विरुद्ध उजुरी, सामाजिक सञ्जाल तथा मिडियाबाजी गरिनु खेदजनक छ,’ उनले भने, उपाध्यक्ष जस्तो पदमा रहेका व्यक्तिबाट यस प्रकारका गतिविधि गरिनु आफैमा हास्यासपद छ ।’ 

गाउपालिकामा एक पक्षीय ढंगबाट चलाउन कर्मचारीहरु प्रयोग गरि आर्थिक अनियमितता र ढिलासुस्ती गरिरहेको आरोप उपाध्यक्ष अवस्थीले लगाएका थिए । विपद्का बेला यस्ता गतिविधिमा नलाग्न आग्रह गर्दै अध्यक्ष धामीले आफूले यसमा गल्ती नगरेको दाबी गर्दै गल्ती भेटिए जुुनसुकै निकायमा जवाफ दिन तयार रहेको बताए । 

‘जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्ता गतिविधि भए संसार नै कोरोनाको कहरले गुज्रिरहेको अवस्थामा महामारीको सामना गरिरहेका कर्मचारी र स्वास्थ्यकर्मीको मनोबल गिराउनु खेदजनक कार्य रहेको उनको भनाई छ,’ धामीले भने । 
उनले यस्ता झुटा प्रचारबाजीबाट कर्मचारी, स्वास्थ्यकर्मीलाई बिचलित नहुन आग्रह गरे । अध्यक्ष धामीले यो घटनाले आफ्नो चरित्र हत्या गरिएकोले उपाध्यक्ष अवस्थीलाई झुटा मुद्दामा कार्वाहीको माग समेत गरे ।

गाउपालिका राहत वितरण तथा कोभिड १९ को जोखिम व्यवस्थापनमा लागेका बेला उपाध्यक्ष अवस्थी आफै दुई महिना जिल्लाबाहिर रहेर अहिले कर्मचारीको मनोबल घटाउने गरी आरोप लगाइरहेको उनको आरोप छ । उपाध्यक्ष अवस्थीले पालिकाबाट गाडी र सहयोगीकाे सुविधा नपाएकाे अाक्राेशमा बदनाम गर्न खाेजेकाे धामीकाे अाराेप छ । 

चालू आर्थिक वर्षकै बजेट उनकै बहुमतमा विनियोजन गरेको अवस्थामा अध्यक्षले मनोमानी गाउपालिका चलायो भन्ने आरोपमा कुनै तुक नभएको धामीले बताए । अध्यक्ष धामीले उक्त घटनाक्रमको निष्पक्ष छानबिन गरि दोषी माथि कार्वाहीको माग समेत गरेका छन् । 
 


प्रतिकृया दिनुहोस