२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

झापा ९ र सुनसरीमा २ कोरोना संक्रमित थपिए

मङ्गलबार ०६, जेठ २०७७ १२:२५

काठमाडाैं । मंगलबार झापाका थप ९ जना र सुनसरीका दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

मंगलबार बिहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सुनसरीका दुई जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको स्रोतले जनाएको छ ।

यअसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए ।

प्रदेश १ मा संक्रमितको संख्या अब ५४ पुगेको छ । उदयपुरका ३३, झापाका १२, मोरङ ३, सुनसरीका ३, भोजपुर १, धनकुटा १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका १७ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । 


#काेराेना

प्रतिकृया दिनुहोस