२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

- रासस शुक्रबार १५, बैशाख २०८० १०:०३

बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

ध्रुवसागर शर्मा 

गलेश्वर । आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।

म्याग्दीको बेनीनगरपालिका–९, घतानका ६ वर्षीय अवोध बालक खड्का आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेका हुन् । अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिएका छन् ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरे पछि निमेशकी आमा मनिषा जेल जीवन बिताइरहेकी छन् भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गरेका छन् ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएका छन् । निमेशलाई वरुवालले बेनीकै समता विद्यालयमा पढ्न पठाउछन् । 'पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटल मै राखेको छु,' बरुवालले भने ।

जेलभित्रै रहेकी निमेशकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन देशविदेशमा रहेका मनकारी व्यक्ति र सङ्घसंस्थासँग अपिल गरेकी छन्।

आफू जेल परेको र बुबाको मृत्यु भएकाले बिचल्लीमा परेको छोराको पालन पोषण कुनै संस्था वा दाताले सहयोग गरिदिए ठूलो गुनमान्ने उनले बताइन् । 'छोरालाई बाँच्न र पढ्न सघाउनु होला, जेलबाट छुटेपछि जीवन भर तपाईँको सेवा गर्नेछुु,' मनिषाले भनिन् । 

विदेशमा छु भन्दै छोरालाई फोन

कर्तव्य वा भवितव्य जुनसुकै प्रकारको अपराधमा लागेका भए पनि आफ्ना सन्तानका लागि आमाको मन वात्सल्यपूर्ण हुन्छ नै । अभिभावकजस्तै खराब भए पनि उसले आफ्ना सन्तान खराब होउन् भन्ने चाहँदैनन् । मनिषाले पनि आफू जेलमा रहेको कुरा छोराले थाहा नपाओस् भनेर विदेशमा छु छोरा भनेर फोन गर्ने गरेकी छन् ।

'आमाछोराको फोनमा कुराकानी हुन्छ, छोरालाई विदेशमा छु भन्दै आमाको फोन आउँदा भाबुक हुन्छु,' होटल शिखरका सञ्चालक बरुवालले भने । मनिषाले छोरालाई वैदेशिक रोजगारीबाट १० वर्षपछि मात्रै फर्कने बताउने गरेका छन् । 

मुलुकी अपराधसंहिता २०७४ को दफा ४१ बमोजिम पुनारावेदन अदालत बागलुङले तोकेको सजाय भुक्तान गरी जेलबाट छुट्ने समयलाई उनले विदेशबाट फर्कन्छु भनेर छोरालाई फोनमा बताउने गरेका छन् । छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै घर फर्कने भन्दै फोन गर्ने आमा मनिषा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । आमा–छोराको मिठो खाने, राम्रो लगाउने अनि धेरै पढ्ने विषयमा भलाकुसारी हुन्छ । 

वडाको पहलमा सहयोग जुटाइँदै

यता बेनीनगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले आमाबुबाको अपराधको सजाय छोराले भोग्न नहुने भन्दै वडाले संरक्षण गरी सहयोग जुटाउने बताए । 'अवोध बालक निमेशको भविष्य अँध्यारो भएको छ, सबैको साथ र सहयोगको आवश्यकता छ,' वडा अध्यक्ष केसीले भने ।

उनले निमेशको नाममा माछापुच्छ्रे बैकमा खाता खोलिएकाले Nimeshkhadka, 0160969886900015 Machhapuchhre Bank Beni Branch खातामा सहयोग जुटाएर लालनपालन र उच्च शिक्षासम्मको पढाइ पूरा गर्ने बताए । सन्तानको सबभन्दा ठूलो खुशी आमा हुने भएकाले आमाको अभाव हुननदिने गरी उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।


प्रतिकृया दिनुहोस