- विशेष खबर बुधबार २९, चैत २०७९ ०७:२६
बैतडी । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाकाे मृत्यु भएको छ ।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।
मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार मृतकहरू भारतको पिथौरागढबाट मजदुरी गरी जुलाघाट नाका हुँदै नयाँ वर्ष तथा विसु पर्व मनाउन घर फर्किंदै थिए ।
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्स लेखेकाे जिप राति ११ बजेतिर दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
जिपमा यात्रारत अन्य ५ जना सकुसल रहेका छन् । उनीहरूले जिप सडकबाट खस्ने क्रममा हामफालेका थिए । चालक अर्जुन बोहरा सम्पर्कविहीन छन् ।
प्रतिकृया दिनुहोस