- विशेष खबर मङ्गलबार २१, चैत २०७९ ०९:१६
सल्यान । सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । छर्रा लागेर तीन जना घाइते भएका छन् ।
आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार बेलबहादुर आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको थियो । घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।
प्रहरीले अहिले भरुवा बन्दुकसहित बेलबहादुर आलेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । शिकार खेल्नको लागि भरुवा बन्दुकमा बारुद भरेर राखेको र खेल्दै जाने क्रममा बालबालिकाले चलाएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस