२०८१ भदौ २३ गते आइतबार | 8 September, 2024

नेपालमा भेटियाे ओमिक्रोनको नयाँ भेरियन्ट

- विशेष खबर मङ्गलबार २१, चैत २०७९ १०:११

नेपालमा भेटियाे ओमिक्रोनको नयाँ भेरियन्ट

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरिबाट लिएको 'र्‍यान्डम स्याम्पलिङ' विधिबाट लिएको २४ वटा पीसीआर तथा एन्टिजेन पोजिटिभ नमुनाहरूको जेनोम सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा. अधिकारीले जानकारी दिएका छन् । परीक्षण गरिएका नमुनामध्ये १० वटामा ओमिक्रोन एक्सबीबी.१.१६ पुष्टि भएको हो ।

त्यस्तै २/२ वटा नमुनामा ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२ पुष्टि भएको छ । त्यस्तै ३ वटा नमुनामा ओमिक्रोन एक्सबीबी १.५ पुष्टि भएको छ । त्यस्तै १/१ वटा नमुनामा बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।

केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यसयता भारतमा संक्रमण फैलिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)की कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले यस भेरियन्टलाई सुक्ष्म निगरानी गरिनुपर्ने बताएकी छिन् ।  


प्रतिकृया दिनुहोस