२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

अफगानिस्तान भूकम्पमा कम्तीमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म धक्का

एजेन्सी बुधबार ०८, चैत २०७९ ०९:४६

अफगानिस्तान भूकम्पमा कम्तीमा ११ जनाको मृत्यु, पाकिस्तानदेखि भारतसम्म धक्का

एजेन्सी । अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालो ६.५ म्याग्निच्युडको थियो। भुइँचालोको कम्पन पाकिस्तानदेखि भारतको राजधानी दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो। उक्त भुइँचालोले अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ।

त्यस्तै, पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्। खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए।

भुइँचालोको कम्पनका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।पाकिस्तानको राजधानी इस्लामाबादमा पनि भुइँचालोको ठूलो कम्पन महसुस गरिएको थियो। भुइँचालोको झट्कापछि स्थानीय आधा रातमा घरबाट बाहिर खुला स्थलमा निस्केका थिए। फेरि भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताए।

भारतको राजधानी दिल्ली र उत्तरी भारतका अधिकांश हिस्सामा पनि कम्पन महसुस गरिएको थियो। अहिलेसम्म प्राप्त रिपोर्टअनुसार यसको कम्पन काजकिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान र चीनका विभिन्न ठाउँमा समेत महसुस गरिएको थियाे ।

गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।


प्रतिकृया दिनुहोस