- विशेष खबर बिहिबार २१, पुष २०७९ ०९:३७
बाँके । दादुराको संक्रमणबाट नेपालगञ्जमा बुधबार एक बालकको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलका अनुसार बिरामी भएर घरमै उपचार गराइरहेका बालकको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म दादुराका २५ जनाभन्दा बढी बिरामी फेला परेका छन् । दादुराले बालकको मृत्यु भएपछि नेपालगञ्जमा संक्रमणको खतरा बढेको भन्दै स्वास्थ्य कार्यालयले आकस्मिक बैठक बसेर प्रकोप नियन्त्रणका लागि सहयोग गर्न सबै स्थानीय तहमा पत्र पठाएको छ ।
अभिभावकले दादुराबाट बिरामी भएका बालबालिकालाई लुकाएकाले उपचार तथा रोग निदानमा ढिलाइ भएको पौडेलले बताइन् ।
‘धेरैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,’ स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले भनिन्, ‘अब थप बिरामीको खोजी गर्दै र दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।’ उनले ४५ हजार डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउन थाल्ने बताइन् ।
शनिबार पाँच जनाबाट नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । जसमध्ये एकै घरका चार जनामा दादुरा पुष्टि भएको थियो ।
शहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् ।
प्रतिकृया दिनुहोस