२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

चैत ५ मा स्ववियु निर्वाचन गर्न प्रस्ताव

- विशेष खबर बिहिबार २१, पुष २०७९ ०२:२८

चैत ५ मा स्ववियु निर्वाचन गर्न प्रस्ताव

काठमाडौं । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्न प्रस्ताव गरेको छ । विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले कार्यकारी परिषद्‌मा बिहीबार स्ववियु निर्वाचन गर्नका लागि प्रस्ताव गरेको हो ।

विद्यार्थी संघ/संगठनसँग राय तथा सुझाव लिएपछि उक्त प्रस्ताव गरिएको खेलकुद परिषद् प्रमुख पशुपति अधिकारीले जानकारी दिए । हिउँदे बिदा‚ फागू पूर्णिमालगायत कारणले त्रिभुवन विश्वविद्यालयलको क्यालेन्डरमा रहेको व्यवस्थाभन्दा मिति पर धकेलिएको खेलकुद परिषद् प्रमुख अधिकारीले बताए ।

प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले पनि स्ववियु निर्वाचन गर्नका लागि निर्देशन दिइसकेका छन् । कार्यकारीले अनुमोदन गरेपछि चैत ५ गते स्ववियु चुनावको मिति घोषणा हुनेछ ।

त्रिवि शैक्षिक क्यालेन्डरमा २/२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ चैतयता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो । स्ववियु नियमित नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ ।

त्रिविका पदाधिकारीले विद्यार्थी संगठन, राजनीतिक दल र सरकारको सहयोग रहे निर्वाचन सम्पन्न गर्न सकिने तर्क गर्दै आएका छन् । विद्यार्थी संगठनले भने त्रिविका पदाधिकारी र क्याम्पस प्रमुखको इच्छाशक्तिमा चुनाव हुने वा नहुने निर्भर रहने बताएका छन् ।

त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन् । २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ । यस प्रणालीमा मनोनयन गर्ने अन्तिम दिनसम्म २८ वर्ष पूरा नभएका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष र उपसभापति, सहसचिवलगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ ।

 


प्रतिकृया दिनुहोस