मङ्गलबार ३०, बैशाख २०७७ ०७:४६
काठमाडौं । काठमाडौंको कीर्तिपुर घर भई अमेरिकामा बसोबास गर्दै आएका नेपालीको समूहले नगरपालिका कार्यालयलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
उनीहरूले कोरोना महामारी सामनाका लागि आफूहरूले संकलन गरेको रकम कीर्तिपुर ४ का वडाअध्यक्ष राजेन्द्र बानियाँमार्फत नगरपालिकालाई सहयोग गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै वडाअध्यक्ष बानियाँले अमेरिकामा बसोबास गर्दै आएका ३७ जनाले उक्त रकम संकलन गरेर नेपाल पठाएको जानकारी दिए ।
उनका अनुसार अमेरिकाको क्यालिफोर्नियाका गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष पूर्णचन्द्र बानियाँको संयोजकत्वमा संकलन गरिएको पनि बताए ।
वडाध्यक्ष बानियाँले अमेरिकामा बसोबास गर्दै आएका कीर्तिपुरका बासिन्दाले दुई लाख ६८ हजार रुपैयाँ संकलन गरी पठाएको बताए । दुई लाख नगरपालिकाका लागि, ५० हजार असहाय मजदुरलाई खाना खुवाउन र बाँकी रकम सञ्चारकर्मीका लागि स्यानिटाइजर, मास्क खरिद गरेर वितरण गरिने वडाध्यक्ष बाँनियाले बताए ।
कीर्तिपुरका ४ कै लागि भनेर रकम संकलन गरेको भए पनि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति लिएका कारण नगरपालिकालाई हस्तान्तरण गरिएको बानियाँको भनाइ थियो । अध्यक्ष बानियाँले सहयोग रकम नगर प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्कालाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।
प्रतिकृया दिनुहोस