२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

तापक्रम क्रमिकरूपमा घट्दै, सतर्कता अपनाउन आग्रह

- विशेष खबर बुधबार ३०, कार्तिक २०७९ ०९:५६

तापक्रम क्रमिकरूपमा  घट्दै, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणानुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


प्रतिकृया दिनुहोस